राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने
बाग्लुङ | भदौ ४, २०८०
बागलुङ: ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ ।
यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । वि.सं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । दिवसका अवसरमा भदौ ११ देखि नै विविध कार्यक्रम तय गरिएको सो पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो दिन पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिनेछ । १२ गते ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ ।
सोही दिन पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिने सचिव शर्माले बताउनुभयो । १३ गते अन्य सामाजिक तथा शैक्षिक संस्थासँगको सहकार्यमा पठन संस्कृतिको विकास र आयामबारे विमर्श कार्यक्रम राखिएको पुस्तकालयले जनाएको छ ।
१४ गते लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना केन्द्रमा पुस्तक उपहार दिने कार्यक्रम राखिएको सचिव शर्माले जानकारी दिनुभयो । भदौ १५ गते पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको उहाँको भनाइ छ ।
“हामीले बर्सेनि पुस्तकालय दिवसलाई विशेषरुपमा मनाउँदै आएका छौँ”, सचिव शर्माले भन्नुभयो, “यो वर्ष पठन संस्कृतिको विकास र नयाँ पुस्तालाई पुस्तकालयप्रति आकर्षित गर्ने गरी कार्यक्रम तय गरिएको छ ।”
राणाकालको प्रतिकूल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ ।
स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् ।
पुस्तकालयमा विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

